पोखरा, मंसिर, २४ । दक्षिण एशियाली खेलकुद (साग)अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।
सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो । सोमबारको खेलमा रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व र्याङकीङ १०औँ भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे । सोहि इभेण्टको महिलातर्फ बंगलादेशकी १४ बर्षकी उदीयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन ।
रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन ।
त्यसैगरी, कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन् । सोही इभेण्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन । श्रीलंकाले यस बिधामा कास्य पदक हात पार्यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।
आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको थियो । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफूहरुले सागको लागि ६ महिनादेखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए ।
दुई बर्षदेखि बंगालादेशको टिम प्रशिक्षण गराउँदै आएको बताएका उनले आफूहरुसंग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ बर्षकी खातुन जस्ता उदीयमान खेलाडीले आफूहरुले प्रशिक्षण गराए अनुसार उत्कृष्ट प्रर्दशन गरेको जनाए ।
१२औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागि राष्ट्रमध्ये प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागि नहुँदा अधिकांश पदक बंगलादेशले हात पार्न सफल भयो ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसदद्वय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । नेपालले एक रजत, दुई कास्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । नेपालसहित चार देश सहभागी भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागी भएन ।