काठमाडौं, मंसिर २४ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)को १०औँ दिन अर्थात् अन्तिम दिन आज नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल सकिएपछि सागको समापन कार्यक्रम रहेको छ । उक्त फुटबलको फाइनल अपरान्ह ३ः०० बजे समापन कार्यक्रमदशरथ रंगशाला त्रिपुरेश्वरमा हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराएका छन् । सोमबार सांझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्यसचिब सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताएका थिए । उनका अनुसार नेपाल र भुटानबीच फुटबलको फाईनल लगत्तै समापन समारोह शुरु हुनेछ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने छन् । त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने र खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्ने छन् । समापन समारोहकै अवसरमा १४औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिने छ ।
त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिब सिलवालले जानकारी गराए । सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिने छ ।
समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा बर्गिकरण गरी ब्यबस्थित गरिनेछ । त्यहां भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, बिदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था हुनेछ ।
समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिने छ । अत्यावश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रबेश परिचपयपत्रसंगै आआफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने ब्यबस्था गरिएको छ । सम्बन्धित ब्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन् ।
आज हुने कार्यक्रमहरुः
— दिनको ११ः५५ बजे सांसद् ११ र राष्ट्र सेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल, दशरथ रंगशाला, त्रिपुरेश्वरमा ।
— भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ः०० बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान १०ः३० बजे, राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा ।
— पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ः०० बजे साथै महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह ३ः३० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा ।
— बक्सिङमा आठ स्वर्णका लागि प्रतिस्पर्धा अपरान्ह १ः०० बजेदेखि, अन्तर्राष्ट्रिय खेलकुद परिसर, कराँते हल, सातदोबाटोमा ।
— जुडोमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुने । खेल बिहान ९ः०० बजेदेखि सुरु र फाइनल १२ः३५ देखि । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा ।