पोखरा, मंसिर २० । दक्षिण एसियाली खेलकुद (साग)मा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा सुरु भएको बिच भलिबलमा पुरुषको २ र महिलाको २ टिमले पहिलो खेलमै पराजय ब्यहोरेका हुन् ।
नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार, राजु विक र सञ्जु शाह, महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी, कोपिता उप्रेती र मनीषा चौधरीको जोडी प्रतिस्पर्धामा उत्रिए । पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित हुनुपर्यो ।
बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीसँग १८–२१ र १६–२१ ले पराजित भयो । नेपालका राजु विक र सञ्जु शाहको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीसँग १४–२१ र १५–२१ को हार ब्यहोर्यो ।
बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहाँ अलिको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलिको जोडीलाई १७–२१, २१–१८ र १५–१२ को सेटमा पाखा लगायो । पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीले बंगलादेशको शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो ।
श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६ र २१–१८ मा समेट्दै जित हात पार्यो । पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले बंगलादेशको मोहम्म्द मोनिर हुसैन र मोहम्मद शाहजहाँ अलिको जोडीलाई १८–२१, २१–१८ र १५–१० को सेटमा पराजित गर्यो । श्रीलंकाका प्रदिप आशंका र असिन कुमाराले नेपालका राजु विक र सञ्जु शाहको जोडीलाई २१–९ र २१–११ मा सहजै पखा लगायो ।