पोखरा, मंसिर १८ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले दुई स्वर्ण, तीन रजत र एक कास्य पदक जितेको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी पाँच स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक/एक स्वर्ण नेपाललाई दिलाएका थिए ।
त्यसैगरी, दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमीबुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यो सँगै नेपालले ट्राईयाथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।
नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले दुई स्वर्ण, पाँच रजत र एक कास्य गरी कूल पाँच पदक हात पारेको छ । त्यसैगरी, श्रीलंकाले एक स्वर्ण र तीन कास्य गरी कूल चार पदकमा चित्त बुझाएको छ । कूल पाँच स्वर्ण सहित १५ पदकका लागि सागअन्तरगतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो ।
आज भएको मिक्स टिम रिले ट्रायथलनमा भारतको तर्फबाट प्रग्न्यामोहन, एम एस आदर्श, सोरोजिनी देवीथाउदम र विश्वरजित साइखोमले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको सहभागिता थियो । श्रीलंकाको तर्फबाट पुभिनीका हान्दावाला, आशंकानिलवीरा, गयाना दशनाएके र छलकाविक्रमा रच्चीको सहभागिता थियो ।
भारतको टिमले निर्धारित दुरी एक घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको थियो । त्यस्तै एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नेपालले रजत पदक हासिल गर्न सफल भएको थियो । श्रीलंकाको टिमले एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो । मिक्स टिम रिले ट्रायथलनका लागि तीन सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साईकिलिङको दुरी र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।
ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् । व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।