काठमाडौं, मंसिर १७ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलको फाइनलमा नेपाल भारतसँग बेस्ट अफ फाइभमा पुगेर ३–२ ले पराजित भएको छ । पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट जितेर इतिहास रचेको थियो । दोस्रो सेट २५–२३ ले जितेको नेपालले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट हारेको नेपालले त्यसपछिका दुई सेट लगातार जिते पनि पछिल्लो दुई सेट हार्न पुग्यो ।
भलिबलको इतिहासमा पहिलोपटक नेपाली टिम साग खेलकुदको फाइनल खेलेको हो । सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराएर नेपाली महिला टिमले ऐतिहासिक उपलब्धि पाएको थियो । फाइनलमा भारतलाई हराएर साग भलिबलमा पहिलो स्वर्णको इतिहास बनाउने अवसर भने चुकेको छ ।
सेमिफाइनलमा श्रीलंकालाई हराएपछि नेपाली टिमकी कप्तान अरुणा शाहीले फाइनलका लागि हौसला बढेको र दबाबबिना खेलेर स्वर्ण जित्ने आश रहेको बताएकी थिइन् । उनले भनेजस्तै खेल देखिए पनि स्वर्ण भने आउन सकेन । पाँचौँ सेटमा सम्हालिन नसक्दा नेपालले खेल गुमाउन पुग्यो ।
समुह चरणमा नेपालले बंगलादेशलाई भने सोझो सेटमा हराएको थियो । यसअघि साग खेलकुदमा महिला टिमले नै तीनपटक कास्य पदक जितेको थियो । महिला टिमले नै सन् १९९९, २००६, २०१६ को सागमा कास्य पदक जितेको थियो । त्यसैले फाइनलमा भारतसँग पराजित भए पनि नेपालको रजत पदक ऐतिहासिक उपलब्धि हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा पहिलो सेटको सुरुवात प्रतिस्पर्धात्मक रह्यो । नेपालले लगातर दुई अंक ल्याउँदा भारतले लगातार तीन अंक ल्यायो । नेपालले तेस्रो अंक ल्याएपछि पुनः भारतले लगातार तीन अंक जोड्यो । त्यसपछि नेपालले खेलमा फर्कंदै लगातर तीन अंक जोड्यो । ७ बराबरीको प्रतिस्पर्धात्मक अवस्थाबाट बढेको पहिलो सेटमा नेपालको केही रिसिभ बिग्रिन पुग्दा भारतले ५ अंकको बढोत्तरीलाई अझ बढाउँदै लग्यो र पहिलो सेटमा नेपाल पराजित भयो ।
पहिलो सेटमा तालमेल बिग्रिएको नेपालको दोस्रो सेटमा सुरुवातमा प्रतिभा मालिले दुई सर्भिस नै भारतको कोर्टमा गिराइदिइन् । सम्हालिएको खेल देखाउँदै ७ अंक हुँदासम्म ३ अंकको अग्रता बनाए पनि त्यसपछि लगातार दुई अंक गुमायो । ८ बराबरीमा पुगेको खेलमा भारतले पहिलोपटक अग्रता बनाएर ९–८ मा लग्यो । त्यसपछि नेपालले १२ मा पुगेर बराबरी गर्न सक्यो । र, १३–१२ मा नेपालले बनाएको अग्रता १४ बराबरीमा पुग्यो । १७–१६ मा अंग्रता बनाएको नेपाल पुनः १७ बराबरीमा पुग्यो । रोमाञ्चक बनेको दोस्रो सेटमा नेपालले २१–१७ मा ४ अंकको अग्रता बनायो । त्यसपछि भारतले एक अंक ल्यायो र नेपालकी कप्तान अरुणा र स्पाइकर प्रतिभा मालीको उत्कृष्ट तालमेलले नेपालले अर्को अंक जोढ्दै खेल २२–१८ मा लग्यो । त्यसपछि भारतले लगातार ३ अंक जोडेर खेल अझ रोमाञ्चक बनायो । महत्वपूर्ण अवस्थामा प्रतिभाको सर्भिस आउट जाँदा खेल २३–२२ मा पुग्यो । ४ अंकको अग्रता बनिसकेको सेटमा अंक गुम्दा नेपाल दबाबमा परे पनि सरस्वतीले खेल २४–२२ मा लगिन् । उनैको उत्कृष्ट स्पाइकमा नेपालले दोस्रो सेट २५–२३ ले जित्यो ।
तेस्रो सेटमा नेपालको खेलको सुरुवात प्रतिस्पर्धात्मक नै रह्यो । सुरुदेखि पछि परे पनि ७ बराबरीमा पुगेको खेलमा नेपालले अग्रता बनाएर खेल ८–७ मा लग्यो । बराबरकै स्थितिमा बढिरहेको खेलमा १३ बराबरीपछि नेपालले २ अंकको अग्रता बनायो । १६ बराबरीबाट बढेको खेलमा भारतले लगातार तीन अंक ल्यायो । पुनः नेपालले १७ बराबरी बनाएको खेलमा एक अंक जोडेर अग्रता बनायो । त्यसमा लगातार थप ३ अंक ल्याएर अग्रता ३ अंकको बनायो । त्यसमा १ अंक भारतले लैजाँदा अर्को १ अंक नेपालले थपेर खेल २२–१८ मा पुग्यो । प्रतिभाको उत्कृष्ट दुई स्पाइकले खेल २४–१९ मा पुग्यो । त्यसमा भारतले लगातार २ अंक जोडेर खेल २४–२१ मा पुग्यो । सेट २५–२१ मा नेपालले जित्यो । चौथो सेटमा पनि पछिल्लो दुई सेटमा जस्तै नेपालले प्रतिस्पर्धात्मक सुरुवात गर्दै बढ्यो । ५ बराबरीबाट बढेको खेल ८ बराबरी हुँदै नेपालले ९–८ को अग्रता बनायो । खेल पुनः १० बराबरीमा पुग्यो । १२–११ बनाउँदै अग्रता बनाएको भारतले खेल १३–११ बनायो । १३ बराबरीमा पुगेको खेलमा नेपाल १४–१७ ले पछि पर्यो ।
भारतीय खेलाडीले सर्भिस मिस गर्दा अंक दुरी घटाएको नेपालले सरस्वती चौधरीको सर्भिस बिग्रँदा पुनः अंक गुमायो । २०–१७ ले पछि परेको नेपाल २२–१८ ले पछि हुन पुग्यो । चौथो सेट नेपालले २०–२५ ले हार्न पुग्यो । बेस्ट अफ फाइभमा पुगेको अन्तिम १५ अंकको सेटमा नेपालले पहिलो ३ अंक नै गुमायो । त्यसपछि पनि नेपाल पाँचौँ सेटमा सम्हालिन सकेन । भारतले ५ अंक जोडिसक्दा नेपालको १ अंक मात्रै थियो । त्यसपछि लगातार दबाबमा राख्दै भारतले अन्तिम सेट १५–६ ले जित्यो ।