काठमाडौं, मंसिर १५ । तेस्रो पटक दक्षिण एसियाली खेलकुद(साग) खेलकुदको आयोजना गर्न लागेको नेपालले आजदेखि औपचारिक रूपमा सुरु हुने १३औँ सागको उद्घाटन भव्य बनाउन तयारी पूरा गरिसकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे १३औँ सागको उद्घाटन गरेपछि साग सुरु हुनेछ । तीन घण्टा चल्ने उद्घाटन समारोहको लागि हिजो(शुक्रबार) दशरथ रंगशालामा ग्रान्ड रिहर्सल भएको थियो ।
उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिने १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले बताए । उद्घटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गर्ने छन् । उद्घाटन र समापन दुबैमा १५ हजार जना कलाकारको प्रस्तुती रहने जनाइएको छ । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले पाँच अर्ब २५ करोड लगानी गरेको छ ।
दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतियोगितामा सहभागीता जनाएका छन् । कलाकारले सातै देशका खेलाडी र पदाधिकारीलाई गीत र नृत्यमार्फत स्वागत गर्दैछन् । हरेक देशका खेलाडी र पदाधिकारी आ–आफ्नो झन्डासहित मार्चमा सहभागी हुँदैछन् । सो समारोहलाई भव्य बनाउन अतीसबाजी पनि गरिने छ ।
मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने छन् । मार्चपासमा सातै देशका गरी करिब तीन हजार खेलाडी सहभागी हुने छन् । त्यसपछि औपचारिक भाषण हुनेछ । भाषणपछि सांस्कृतिक कार्यक्रम सुरु हुनेछ । जहाँ नेपालको साथै सातै देशको प्रतिनिधित्व हुने गरी गीत र नृत्य प्रस्तुत हुनेछ । बीचमा ओलम्पिक टर्चको प्रज्ज्वलन हुनेछ । ओलम्पिक टर्च तेक्वान्दोका कीर्तिमानी खेलाडी दिपक बिष्टले बोक्ने कार्यक्रम छ । एक साताअघि र्यालीमा निकालिएको टर्च ६ प्रदेशका ६ शहरमा घुमाएपछि अन्तिममा काठमाडौं ल्याइएको हो । उद्घाटन समारोहलाई १० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने छन् भने समारोहको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
२४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी छहजार पाँच सयले सहभागिता जनाउँदै छन् । त्यसमध्ये तीन हजार खेलाडी, एक हजार अफिसियल, दुई हजार दुई सय ७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा तीन सय १६ स्वर्णसहित एक हजार एक सय ११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट छ सय ९४ खेलाडी दर्ता गरिएको छ ।
सागको औपचारिक उद्घाटनकै दिन आइतबारदेखि चार वटा खेल सुचारु हुँदैछन् । आइतबार काठमाडौंमा कराते र खोखोको हुनेछ । पोखरामा ब्याडमिन्टन खेल सुरु हुनेछ । भलिबल खेल चारदिने अघिदेखि सुरु भइसकेको छ । दशरथ रंगशालामा एउटै मात्र कभर्डहल रहेको र त्यहाँ बास्केटबल खेल समेत खेलाउनु पर्ने भएकोले भलिबल उद्घाटन अघिनै सुरु गरिएको हो । नेपाली महिला भलिबल टोली साग भलिबलको फाइनलमा पुगिसकेको छ । नेपालले साग खेलको आयोजनालाई नेपाल भ्रमणबर्ष २०२० को तयारीको रुपमा समेत लिएको छ ।