काठमाडौं, मंसिर १३ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । बिहिबार आयोजित पत्रकार सम्मेलनमा साग सुरक्षा कमिटीका संयोजकसमेत रहेका खनालले सागमा अवाञ्छनीय गतिविधि हुन नदिने बताएका हुन् ।
प्रहरी महानिरिक्षक खनालले सागलाई सुरक्षित रुपमा अवतरण गर्न भिभिआइपी, भिआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया, दर्शकको सुरक्षा व्यवस्थामा रत्तिभर कमी नहुने र विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिने जनाएका छन् ।
सागमा हुनसक्ने सम्भावित हुलदङ्गाका लागि होटलदेखि यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । खनालका अनुसार पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुने र आवश्यकता परेमा खेलाडीहरुलाई विशेष सुरक्षा व्यवस्थसहित खेल स्थलसम्म पनि पुर्याइने छ । सुरक्षा विषयमा सावधानी र सतर्कता अपाउन आवश्यक सबै सुरक्षा उपायहरुमा अपनाइने र सम्भावित खतरालाई निस्तेज पार्ने व्यवस्था भइसकेको भन्दै खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा निगरानी उच्च बनाइएको बताए ।
प्रहरी महानिरिक्षक खनालले विशेष परिस्थितिका लागि थप सुरक्षाकर्मीको टिम तयार गरिने जानकारी दिए । त्यसैगरी, सदस्यसचिव सिलवालले दर्शहरुलाई रङ्गशालामा रहेका सिटमा क्षति नपुर्याउन आग्रह गरे । उनले भने, ‘रङ्गशालामा दर्शकहरुको गतिविधिलाई निगरानी गर्न सिसिटिभी जडान गरिएको त छ नै इ टिकटबाट पनि दर्शक पहिचान गरी कारवाही गरिने छ ।’
ट्राफिक व्यवस्थापन
सागमा काठमाडौँका सडकमा हुने जामलाई व्यवस्थापन गर्न चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न उपाय अपनाइने भएको छ । सागको समयमा ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिने छ । दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गरिने छ । उद्घाटनका दिन रिङरोडभित्र बिजोड र समापनमा जोड नम्बरका सवारी साधन मात्र चलाउन पाउने नियम लागू गरिने छ । दर्शकका लागि पार्किङस्थल टुँडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुने छ । रङ्गशालाभित्र भिभिआइपिको पार्किङ हुने छ ।
टिकट
राष्ट्रिय खेलकुद परिषद्ले सागमा हुने खेलका लागि इ–सेवासँग सहकार्य गरेको छ । इ–सेवाले अहिले फुटबल, बास्केटल र भलिबलका टिकट अनलाइनमार्फत् बिक्री सुरु गरिरकेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले साग डट इसेवा डट कम डट एनपीमा गएर टिकट खरिद गर्न सक्ने छ । इसेवाका प्रतिनिधि रोशन लामिछानले दशरथ रंगशलामा हुने समुह चरणका फुटबल खेल हेर्न साधारण पारापिटमा पाँच सय र भिआइपी पारापिटमा एक हजार रुपैयाँको टिकट तोकिएको जानकारी दिए । त्यसैगरी, क्रिकेटको टिकट बिक्रीको अधिकार भने नेपालयसँग छ । क्रिकेटमा नेपालको खेल हुँदा पाँच सय र अन्य देशबीच खेल हुँदा दुई सय रुपियाँ टिकट मूल्य तोकिएको छ ।