काठमाडौं, मंसिर १० । आगामी आइतबारदेखि नेपालमा शुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का नेपाली खेलाडी, पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्याका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज आयोजना गरेको सागमा सहभागी खेलाडीको विशेष पुरस्कार घोषणा कार्यक्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री खतिवडाले शुभकामना दिएका हुन् ।
कार्यक्रममा अर्थमन्त्रीले नेपाल सरकारले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई विगतको भन्दा उचित पुरस्कारबाट सम्मान गरिने बताएका छन् । अर्थमन्त्री खतिवडाले भने, ‘नियममा व्यवस्था भएभन्दा पनि बढी पुरस्कारबाट खेलाडीलाई उचित सम्मान गरिनेछ । युवा तथा खेलकुद मन्त्रालयले ल्याएको प्रस्तावलाई मन्त्री परिषद्मार्फत कार्यन्वयन गर्न हामी तयार छौं ।’ उनले नेपालको भौगोलिक अवस्था अनुसार साहसिक खेललाई अर्थोपार्जन र व्यवसायको रुपमा पनि अगाडी बढाउनुपर्ने बताए ।
नेपाल सरकारले यसअघि १२औँ सागमा स्वर्ण जित्नेलाई जनही तीन लाख, रजत जित्नेलाई दुई लाख र कांस्य जित्नेलाई एकलाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सागलाई सफल पार्नु सबै नेपालीको कर्तब्य भएको बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले नेपाली खेलाडीलाई उच्च मनोबलका साथ सागका स्वर्ण पदक ल्याउन शुभकामा दिए ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले अर्थमन्त्रीमार्फत अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माणका लागि सहयोग गर्न सरकारसँग आग्रह गरेका थिए ।
सोही अवसरमा बंगलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई जनही तीनलाख रुपैयाँ पुरस्कारबाट सम्मान गरिएको थियो । भलिबल टोलीलाई अर्थमन्त्री खतिवडाले पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी, सरकारले राष्ट्रिय खेल भलिबलको अत्याधुनिक कभर्डहल निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले राखेपले जग्गाको ब्यवस्था गरेमा सरकारले सुबिधासम्पन्न कभर्डहल बनाइदिने बताएका छन् ।