काठमाडौं, मंसिर ३ । नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालबाट पाँच सय ९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत समितिले फेन्सिङ्ग, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेलहरु गरी २१ खेलका खेलाडी बैदेशिक प्रशिक्षण प्राप्त गरेको र केहि वैदेशिक प्रशिक्षणमै रहेको जानकारी गराएको हो ।
समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । नेपालबाट तीन सय १२ पुरुष र दुई सय ८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताए । उनले भने, ‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं ।’
नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्र्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षणसमेत दिइएको थियो ।
साग बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्धि समेत हासिल गरेको समितिले जनाएको छ । काताले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो । महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ काश्य जितेको थियो । पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको समितिले जनाएको छ । विश्व तेक्वान्दो हान्मादाङ्ग च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो ।
त्यसैगरी, चाईना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ । सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्य सुशिल नरसिंह राणाले बताए । डा.प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकोले १३औं सागमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । संयोजक रानाभाटले तयारीका लागि कुनै कसर बाँकी नराखेको बताउँदै सागमा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।