काठमाडौं, कात्तिक २९ । सिएम कृष्ण थापा कुनै पनि अफीसीयल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहिबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन् ।
नौ चरणको खेलमा ८ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६.५ अंक सहित पाचौँ भए । प्रतियोगितामा नेपाली खेलाडीले शिर्ष पाँच स्थान पाए । अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अंकसहित दोश्रो, भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अंकसहित तेश्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अंक सहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौँ भए । यसैगरी, सुमित पन्त सातौँ, आशिष फुयाँल आठौँ तथा सुरविर लामा नवौँ तथा शुभम शुक्ला दशौँ भए ।
महिलातर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चिनका सुन फुरुङ दोश्रो, नेपालकी सुजना लोहनी तेश्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै शुसीला गुरुङ पाचौँ भए । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी थिए ।
विजयी थापाले एक हजार पाँच सय, उपविजयीले एक हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले सात सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसैगरी, चौथोँ र पाचौँले पाँच सय, छैठौँले चार सय तथा सातौँले तीन सय ५०, आठौँदेखि दशौँ हुनेले तीन सय अमेरिकी डलर पुरस्कार पाउने छन् । महिलातर्फ विजयीले सात सय, उपविजयीले पाँच सय, तथा तेश्रोदेखि पाचौँ हुनेले तीन सय अमेरिकी डलर पुरस्कार पाए ।