काठमाडौं, कात्तिक २६ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय युवा टोलीको घोषणा गरेका हुन् ।
घोषणा भएको टोलीमा गोलरक्षकमा विकेश कुथू, अर्पण कार्की, दीप कार्की छन् भने डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, बिकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ रहेका छन् । त्यस्तै, मिडफिल्डरमा सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नीतिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ छन् भने स्ट्राइकरमा बिमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अञ्जन बिष्ट रहेका छन् ।
घोषित टोलीमा अन्तर्राष्ट्रिय लिगमा चर्चित रहेका नेपाली खेलाडी पर्न सकेनन् । यू–२३ टोलीमा तीन सिनियर खेलाडीलाई समावेश गर्न सक्ने प्रावधान भएपनि प्रशिक्षक महर्जनले कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र नवयुग श्रेष्ठलाई टोलीमा राखेनन् । चेम्जोङ र रोहितलाई क्लबले रिलिज नगरेकाले टोलीमा नपरेका हुन् । अब तीन सिनियर खेलाडीका रूपमा मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर बिक्रम लामा र गोलरक्षक बिकेश कुथू रहने छन् ।
बिक्रमलाई आवश्यकताअनुसार डिफेन्स र मिडफिल्डमा खेलाउन सकिने प्रशिक्षक महर्जनले बताए । पछिल्लो संस्करणमा कप्तान विराज महर्जन, बिक्रम र नवयुग श्रेष्ठ समावेश थिए । नेपालले २०१६ मा गुवाहाटीमा स्वर्ण जित्दा नवयुगले सनसनीपूर्ण गोल गरेका थिए ।