काठमाडौं, कात्तिक २४ । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा नेपालमा पहिलो पटक ‘योनेक्स–सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९’ बुधबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो ।
प्रतियोगितामा नेपाल लगायत २१ राष्ट्रका एक सय ४९ खेलाडीहरुले कूल पाँच विधामा प्रतिस्पर्धा गर्ने छन् । जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगलतर्फ प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । पुरुष एकलमा विश्व बरियतामा ५८औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने महिला एकलमा ३८औं बरियताकी खेलाडीले प्रतिस्पर्धा गर्ने छिन् । यस्तै, पुरुष युगलमा २७औं, महिला युगलमा ३३औं र मिक्स युगलमा ४४औं स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
करिब ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरुबाट सहयोग जुटाइनेसमेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । च्यालेन्जमा पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८ सय ७५ युएस डलर, उपविजेताले नौ सय ५० डलर, तेश्रोले तीन सय ६२ दशमलव ५० डलर, अन्तिम ८ प्रवेश गर्नेले एक सय ५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७ दशमलव ५० डलर प्राप्त गर्नेछन् ।
यस्तै, पुरुष/महिला तथा मिश्रीत युगल तर्फका विजेताले एक हजार नौ सय ७५ डलर, उपविजेताले नौ सय ५० डलर, तेश्रोले तीन सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले एक सय ८१ दशमलव २५ डलर र अन्तिम १६ मा पुग्नेले ९३ दशमलव ७५ डलर प्राप्त गर्ने छन् । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार खेलाडी तथा अफिसियलको खानेबस्ने व्यवस्था भने आयोजक आफैले गर्ने छन् ।