काठमाडौं, कात्तिक १९ । बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपालले अरुणा शाहीको कप्तानीमा राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरेको छ । नेपाल भलिबल संघले आज शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।
उक्त टिममा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ रहेका छन् । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा संघले अरुणालाई टिम नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । बिनिता अहिले बिच भलिबलको राष्ट्रिय टिममा रहेकी छिन् ।
बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट नेपालले सेन्ट्रल जोनका लागि १२ खेलाडी छनौट गरेको हो । बन्द प्रशिक्षणमा रहेकी मध्ये शान्ति तामाङ, उषा भण्डारी, संगम महतो, आरती सुवेदी, हीरा केसी र शान्ति थारुले स्थान बनाउन सकेनन् । थाइल्याण्ड भ्रमणको दौरान खेलाडीले गरेको प्रदर्शनको आधारमा नेपाली टिम छनौट गरिएको हो ।
एभीसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कि्मिनिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।