काठमाडौं, कात्तिक १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाल र म्यानमारबीच यही नोभेम्बर ७ तारिखमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् ।
नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनौट अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनौट खेलको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनौट अन्तर्गत नेपालले नोभेम्बर १९ तारिख घरेलु मैदान दशरथ रंगशालामा कुवेतसँग खेल्दैछ । मैत्री खेलका लागि कप्तान एवं गोलरक्षक किरण चेम्जोङ र रोहित चन्दलाई राखिएको छैन । किरण र रोहित अहिले ब्यवसायिक खेलका लागि देश बाहिर छन् ।
नेपालले म्यानमारसँग खेल्ने उक्त मैत्रीपूर्ण खेलमा विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने गोलरक्षक छन् भने रक्षकमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल रहेका छन् । त्यस्तै, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ छन् भने स्ट्राइकरमा भरत खवास, बिमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् ।