रोल्पा, कार्तिक ४ । शहिद स्मृति मार्शल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगितामा प्रदेश नम्बर पाँचले आठ स्वर्ण हात पारेको छ । परिवर्तन गाउँपालिका, पुतलाचौरमा कार्तिक २ गते सम्पन्न भएको उक्त प्रतियोगितामा प्रदेश पाँचले सबैभन्दा बढी स्वर्ण हात पार्न सफल भएको हो ।
त्यसैगरी, प्रदेश नम्बर ३ ले ६ स्वर्ण, कर्णाली प्रदेशले दुई स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ३ नम्बर प्रदेशका विशाल खड्का र महिलातर्फ ५ नम्बर प्रदेशकी कविता घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी, आयोजक टोलीका अशोक बुढामगर उदीयमान खेलाडी घोषित भए भने भुवन बुढामगर उत्कृष्ट रेफ्रि घोषित भए ।
प्रतियोगिताका प्रमुख अतिथि तथा पाँच नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री बरालले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रमका विशेष अतिथि तथा प्रदेशसभा सदस्य दिपेन्द्र पुन (सिजल)ले प्रतियोगिताले परिवर्तन गाउँपालिकाको महत्वलाई बढाएको तथा देशभरि यसलाई परिचित गराउन सहयोग गरेको बताए ।
त्यस्तै, विशेष अतिथि तथा परिवर्तन गाउँपालिकाका प्रमुख निमकान्त डाँगी, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर, आयोजक कमिटिका संयोजक तथा रोल्पा मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष यमुना घर्ती मगर र राष्ट्रिय खेलकुद परिषद्का कानु्न विभाग प्रमुख नारायण राज अर्याल लगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा डाँगीले प्रतियोगितालाई सहजतापूर्वक सञ्चालन गर्न सहयोग गर्ने सबै खेलाडीप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको विशेष अतिथि रहेका केन्द्रीय अध्यक्ष घर्ती मगरले पछिल्लो समय नेपालमा मार्शल आर्ट्स हाप्किडोले तिब्र गतिमा फड्को मारेको बताए । उनले परिवर्तन, विकास र समृद्धिका लागि विभिन्न कालखण्डमा जनयुद्ध, जनआन्दोलन र विभिन्न चरणमा भएका जनताको आन्दोलनबाट शहिद भएकाहरुको सम्झनामा सो कार्यक्रम गरिएको जानकारी गराए । साथै, उनले सो कार्यक्रमको सफलताले रोल्पा जिल्लाको गरिमामयलाई बढाएको धारणा व्यक्त गरे । त्यस्तै, आयोजक कमिटिका संयोजक यमुनाले उक्त प्रतियोगिताले रोल्पा जिल्लालाई नै नेपाली खेलकुदमा स्थापित गराएको बताइन् ।
रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भएको उक्त प्रतियोगिता रोल्पा मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा, नेपाल मार्शल आर्ट्स हाप्किडो संघको सहयोगार्थ र परिवर्तन गाउँपालिका, रोल्पाको मुख्य प्रायोजनमा भएको थियो । प्रतियोगितमा सात प्रदेश र आयोजक फाइट, डेमेस्ट्रेशन, सेल्फ डिफेन्स गरी आठ टोलीका करिब दुई सय जना खेलाडीहरुको सहभागीता रहेको थियो ।