काठमाडौं, कार्तिक १ । ७औँ मिलिटरी वर्ल्ड गेममा नेपाली सेनाले भाग लिने भएको छ । चीनको वुहानमा आजबाट सुरु हुने उक्त प्रतियोगितामा सञ्चालन हुने २५ खेल विधामध्ये नेपाली सेनाका खेलाडीहरु विभिन्न १३ खेलमा सहभागी हुने जनाइएको छ । उक्त खेलको आज साँझ ८ बजे वुहान स्पोर्ट सेन्टरमा चीनका राष्ट्रपति सी चीनफिङले उद्घाटन गर्ने भएका छन् ।
नेपाली सेनाका तर्फबाट आर्चरी, ट्रयाक एण्ड फिल्ड, ब्याटमिण्टन, तेक्वान्दो, बक्सिङ, विच भलिवल, घोड चढी, कुस्ती, फेन्सिङ, मोर्डन पेन्टाथलन, जुडो, सुटिङ्ग, ट्रयाथलनमा भाग लिने जनाइएको छ । उक्त प्रतियोगितामा नेपाली सेनाका ४० जना खेलाडीहरु सहभागी हुनेछन् भने अतिथि, डेलिगेसन र कोचसहित कूल ६४ जना रहने जनाइएको छ ।
त्यसैगरी, उक्त कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बिहिबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । १० दिनसम्म चल्ने उक्त खेलमा भाग लिन नेपालसमेत विश्वका एक सय नौ मुलुकका नौ हजार तीन सय आठ सेना सो स्थानमा पुगेका छन् । सो कार्यक्रम अन्तर्गत तीन सय २९ वटा इभेन्टमा २७ खेल हुने जनाइएको छ । ।
चीनको सो खेललाई मिलिटरी वर्ल्ड गेमको समेत नाम दिइएको छ । नेपाली सेना यो खेलमा पहिलो पटक सहभागी हुन लागेको हो । प्रतियोगितामा यस पटक २५ वटा खेल प्रतियोगिता र २ वटा खेल प्रदर्शन गरी कूल २७ खेलहरु समेटिएका छन् ।