काठमाडौं, असोज १४ । गोर्खाज क्लासिकको आयोजनामा पोखरामा सम्पन्न प्रथम ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को उपाधि काठमाडौंकी सुजिता मानन्धर र ललितपुरकी रुपा केसीले जितेकी छिन् । उपाधि विजेताले जितसँगै मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद दुई लाख रुपैयाँ प्राप्त गरे ।
दोस्रो बनेकी काठमाडौं केज टोटल फिटनेसकी रोजी लामाले मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद एक लाख पाँच हजार रुपैयाँ प्राप्त गरिन भने तेस्रो बनेका फिटनेस स्टपकी सनम मुलगुठीलाई मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ८० हजार रुपैयाँ प्रदान गरेको गोर्खाज क्लासीकका अध्यक्ष कुमार गुरुङले बताए ।
बिकिनीतर्फ बिजेता बनेका रुपा केसीले मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ८० हजार रुपैयाँ हात पारिन भने उपबिजेता बनेकी सपना गुरुङलाई मेडल, ट्रफी, प्रमाणपत्रसहित ६० हजार र सान्त्वना स्थान हासिल गरेकी याङदोङ लामालाई मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन ।
प्रतियोगिताको दुबैविदातर्फ मुख्य निर्णायकको रुपमा गोबिन्द चित्रकार र निर्णायकको रुपमा शिबध्वज राई, केशव शाक्य, नानीकाजी डंगोल, उत्तम उदास र निर्मला महर्जन रहेका थिए । सो कार्यक्रममा नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका केन्द्रीय महासचिव राजन श्रेष्ठले शुभकामना मन्तव्य दिएको थिए भने प्रमुख अतिथि कांग्रेस केन्द्रीय नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् नेत्री सरस्वती गुरुङ प्रतियोगिताले महिलामा अन्तरनिहित क्षमता प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने बताईन । महिला जागरणको निम्ती शारीरिक सुगठन प्रतियोगिताले बिशेष भूमिका खेल्ने बताउँदै अन्य संघसंस्थाले समेत प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको नेत्री गुरुङले उल्लेख गरिन ।
प्रतियोगितमा सेप अप जुम्बा फिटनेसको तर्फबाट जुम्बा र आई.एफ.बी.बी प्रोकार्ड बिजेता बनिता राई लगायतले प्रस्तुती राखेका थिए । प्रतियोगिता हरेक दुई–दुई बर्षमा आयोजना गरिने गोर्खाज क्लासिकका अध्यक्ष कुमार गुरुङले जनाए ।