महिला डबल्सको उपाधि नेपालको पोल्टामा
काठमाडौं, असोज १३ । अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत महिला डबल्सको उपाधि नेपालले जितेको छ । यस स्पर्धामा विदेशी खेलाडी सहभागी थिएनन् । आइतबार भएको फाइनलमा नेपालकी पूजा श्रेष्ठ र नङ्शल तामाङको जोडीले जेसिका गुरुङ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१६ ले हराउँदै उपाधि जितेका हुन् । नेपालका निता लम्साल र सिमा राजवंशी तथा सिता राई र सम्झना शर्माको जोडी तेस्रो भए ।
महिला पुरुष एकल : सेङ र माल्विका च्याम्पियन
मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स दाहाल र भारतका कात्तिकेय सुल्सान कुमार तेस्रो भए । यसैगरी महिला एकलको फाइनलमा माल्विकाले भारतकै गायत्री गोपीचन्द पुलेलालाई २१–१४, २१–१८ ले स्तब्ध बनाईन् । सेमिफाइनलमा पराजित भएकी चाइनेज ताइपेईकी यु चेह तेस्रो भइन् । गायत्रीले भने सेमिफाइनलमा जापानकी युरी नाकामुरासँग वाकओभर पाएकी थिईन् ।
पुरुष डबल्स : भारतका रोहन र सौरवको जोडीलाई उपाधि
भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत पुरुष डबल्सको उपाधि जितेका छन् । राखेप कभर्डहल कोर्टमा आइतबार भएको खेलमा रोहन र सौरवको जोडीले मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराए । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा रोहन र सौरुभको जोडीले नेपालका विजित थापामगर र विकास श्रेष्ठको जोडीलाई हराएर फाइनलमा स्थान बनाएका थिए । इजात र जाचेरीको जोडीले सेमिफाइनलमा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
मिक्स डबल्स : भेनकाट र जुहीको जोडीलाई स्वर्ण
भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत मिक्स डबल्सको उपाधि जितेको छ । राखेप कभर्डहल कोर्टमा आइतबार भएको फाइनलमा उक्त जोडीले थाइल्यान्डका बोरनवाटानोउङ फुथापोर्न र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीलाई हराएको हो । बोरनवाटानोउङ र रिरिनको जोडीले दोस्रो सेटको बीचमै खेल त्यागेपछि भेनकाट र जुही विजेता बनेका थिए । बोरनवाटानोउङको दायाँ हातमा चोट लागेपछि उनले बीचमै खेल त्याग्ने निर्णय गरेका थिए । यद्यपी भारतीय जोडीले पहिलो सेट २१–१९ ले जितेको थियो । विपक्षीले खेल त्याग्नुअघि दोस्रो सेटमा पनि भेनकाट र जुहीको जोडी १७–१० ले अगाडी थिए । च्याम्पियन भेनकाट र जुहीको जोडीले सेमिफाइनलमा नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।