काठमाडौं, असोज ३ । भारतका भरत शर्मा र नेपालकी निरा कायस्थ प्रथम ईन्डो नेपाल पिकलबल च्याम्पियनसिपमा मिक्स डबल्समा फाईनल प्रवेश गरेका छन् । भरत र निराको जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११–१, ११–१ को समान अन्तरमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
यस्तै अर्को फाईनल प्रवेश गर्ने टोलीमा भारतका भुपेन्द्र र ईन्द्राको जोडी रहेका छन् । उक्त जोडीले निशान्त र रिशुको जोडीलाई ११–१, ११–० को सेटमा पराजित गरेका छन् । सो स्पर्धामा तेश्रो स्थानमा भारतका निशान्त र रिशुको जोडी तेश्रो भयो । उक्त जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११–८, ११–६ ले पाखा लगायो ।
नेपाल पिकलबल संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ भारतका मुख्त्यारअली र भुपेन्द्रको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । उक्त टोलीले भारतका नोवो र कुसुमको जोडीलाई ११–०, ११–० को अन्तरले पराजित गरे । यस्तै भारतका गौरव र सनिलको जोडी, भरत र विकासको जोडी तथा रञ्जन र महेशको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । गौरव र सुनिलको जोडीले नेपालका राजेश र कुमार प्रधानको जोडीलाई ११–५, ११–२ ले, भरत र विकासको जोडीले भारतकै मरिदु पवन र हिरकको जोडीलाई ११–२, ११–४ ले तथा रञ्जन र महेशको जोडीले राजेश स्थापित र राजु भुजुको जोडीमाथि ११–२, ११–४ को जित निकाल्यो ।
ग्यालेक्सी स्कुलमा भएको प्रतियोगितामा महिला एकलमा नेपालका विधी क्षेत्री, केञ्जल चित्रकार, एन्जल राई, ममता खड्का, खुस्वु तिवारी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् ।
महिला जोडीतर्फ भारतका पुजा र ईन्दिराको जोडीले नेपालका प्रमिला र गंगाको जोडीलाई ११–०, ११–० को अन्तरले पराजित गर्न सफल भएका छन् । त्यसैगरी, पुरुष एकलमा भारतका महेशले नेपालका राजेशलाई ११–२, ११–९ ले तथा भारतका गौरवले नेपालका राधेश्याम मचामसीलाई ११–२, ११–२ को समान अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै नेपालमा नौलो खेल आएकोमा स्वागत गर्दै सबै उमेरका व्यक्तिहरुका लागि सहज हुने खेल नेपालमा विस्तार हुनेमा आफू विश्वस्त रहेको बताए । उनले नेपालमा यस खेललाई परिचित गराएकोमा भारत पिकलबल महासंघ तथा एशियन पिकलबल संघलाई हार्दिक धन्यवादसमेत प्रदान गरे ।