काठमाडौं, असोज २ । नेपालमा नौलो खेलको सुरुवातको रुपमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ । ग्यालेक्सि स्कुलमा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराईने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । अमेरिकाबाट सुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भईसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आइसकेका छन् ।
नेपालमा यस खेलको विकास र विस्तार गर्ने उद्देश्यले सन् २०२० मा एक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएको महासचिव राणाले बताए । नेपालले यस अघि देहरादुनमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाई सकेको छ ।
ब्याडमिन्टन, टेनिस र टेबलटेनिसको मिश्रित रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको र्याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरी खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाईने छ । सबै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय हुनुका साथै एशियामा चाईना, जापान, कोरिया, थाईल्याण्ड, सिंगापुर, भारतलगायत १८ देशमा लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए । यो खेल कभर्डहल र खुला भुभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सबै उमेर समुहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटै नै लोकप्रियता हासिल गर्नेमा आफू बिश्वस्त रहेको महासचिव राणाले बताए ।
प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान १०ः०० बजे ग्यालेक्सि स्कुलमा हुने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । त्यस्तै प्रतियोगिताको समापन तथा पुरस्कार वितरण शनिबार दिनको ३ः०० बजे हुने जनाइएको छ ।