काठमाडौं, भाद्र २८ । आर्मीका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । आर्मीको बचश्व रहेको दौडमा उपाधि बिजेता रिमालले २६ मिनेट, २९.८१ सेकन्डमा दुरी पार गरेका थिए ।
दोश्रो स्थानमा रहेका दिपक अधिकारी १.४ सेकेण्डले मात्र पछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए । तेश्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेण्डमा दुरी पार गरेका थिए । स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैं दौड भन्ने नाराका साथ सुरु भएको उक्त दौडमा पाँच बर्षका बालक नेबिस रौनियार पनि सहभागिता भएका थिए ।
युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको ८ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुँदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डप, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुँदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो । बिजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालीका उपाध्यक्ष दिपक अग्रवाल, ओलम्पियन म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्राधाविका मिरा राई, आयोजक जगदम्बा मोटर प्रालीका बजार प्रमुख नवराज कोईरालालगायतले बिजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।
उपाधि बिजेता रिमालले ५० हजार, उपबिजेता अधिकारीले २५ हजार र तेश्रो स्थान हात पार्ने राईले नगद १५ हजार प्राप्त गरेका थिए । जगदम्बा मोटर प्रालीको ५औँ बर्षगाठका अवसरमा सो दौड नेपालको सातै क्षेत्रमा आयोजना गरिने बजार प्रमुख नवराज कोईरालाले जानकारी गराएका छन् ।