काठमाडौं, भाद्र २६ । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा तथा पुलिसले आयोजक प्रगतिशिल युवा नेपाल क्लबलाई ३–१ को सेटमा जित निकाल्दै वियजी शुरुवात गरेको हो ।
मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको खेलमा आर्मीले सफलता पाएको हो । प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बनेको आर्मीले प्रतिस्पर्धात्मक तेस्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेटमा एक समय ४–१० ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ को जित निकाल्दै ३–१ को सेटमा जित हात पार्यो । बुधबारै समुह ‘बी’ मा उपाधिको दाबेदार नेपाल पुलिस क्लबले आयोजक प्रगतिशिल युवा नेपाल क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१७, २५–१८ र २५–१५ को सहज जित निकाल्यो । आर्मीसँग पराजित हुनुअघि एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो ।
गण्डकी प्रदेश र गल्कोट स्पोर्टस् क्लब टोकियो जापानबीचको खेल वर्षाले रद्ध हुन पुग्यो । गण्डकीले शुरुवाती दुई सेट २५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पनि गण्डकीले अग्रता लिइरहँदा वर्षा भएपछि खेल सुचारु हुन सकेन । बुधबारकै लागि तय आर्मी र जावलाखेलबीचको खेल पनि हुन सकेन ।
प्रतियोगितामा बिहिबार ५ खेल हुनेछ । बिहिबार जावलाखेल र आर्मी, प्रगतिशिल युवा क्लब र गण्डकी प्रदेश, पुलिस र गल्कोट, एपीएफ र जावलाखेल तथा गण्डकी र गल्कोटबीच खेल हुनेछ । प्रगतिशील युवा नेपालको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समुह ‘ए’मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समुह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । दुबै समुहका शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले तीन लाख, तेस्रोले एक लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।