काठमाडौं, भाद्र २१ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ । नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनौट गरेका हुन् ।
अन्तिम २३ खेलाडीको नाम भने एक सातापछि मात्र सार्वजनिक गर्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘एकै पटक कम खेलाडी घटाउँदा खेलाडीमा नैराश्यता देखिने भएकाले दोस्रो चरणमा ५ खेलाडीलाई हटाएका हौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘एक साताको अभ्यासमा कुनै खेलाडीमा केही देखिन्छ कि भनेर दोस्रो चरणको छनौटमा २५ खेलाडी समावेश गरेका हौं । एक साता अभ्यास पछि फाइनल टोलीको घोषणा गर्छौ ।’
त्यस्तै, कोरियाको एकेडेमीमा खेल्दै आएका मनीष डाँगीलाई पनि समावेश गरिएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए । ‘मनीषले ‘सी’ डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका थिए । म आपैmंले उनको खेल हेरेको छु । सिनियर प्रशिक्षक र पदाधिकारीसँगको सल्लाहमा उनलाई समावेश गरेका हौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘विदेशी एकेडेमीमा पनि खेलेको अनुभव उनीमा छ । साथै छोटो अभ्यासमा पनि उनले राम्रो प्रदर्शन गरेका छन् ।’
सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने साफ यु–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुने छ । प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउँदै छन् । नेपाल समुह ‘ए’ मा रहेको छ, जसमा नेपालसँगै पाकिस्तान, माल्दिभ्स, भुटान छन् । नेपाल यसअघिका दुबै संस्करणको च्याम्पियन टोली हो । त्यस्तै, समुह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् ।