काठमाडौं, भाद्र १६ । नेपाल भलिबल संघले १३औँ सागका लागि पहिलो चरणमा १८ खेलाडी छनौट गरेको छ । भलिबल संघका अनुसार श्रावण १ गते देखि प्रशिक्षण शिविरमा २५ खेलाडीलाई राखेर प्रशिक्षण प्रदान गरिरकोमा भाद्र १२ र १३ गते भएको छनौटबाट १८ खेलाडीहरु पहिलो चरणको लागि छनोट गरिएको हो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानेर १३औं दक्षिण एशियाली खेलकुदका लागि २५ खेलाडी छनौट गरिएको थियो । प्रारम्भिक चरणमा केहि नियमित खेलाडीहरु टिममा पर्न असफल भएका थिए । सागमा पदक हात पार्न सफल भइसकेको महिला भलिबल टोलीमा पहिलो चरणमा स्थान बनाउन सफल १८ खेलाडीहरुमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ्ग, सोफिया पुन, उषा बिष्ट, सुनिता खड्का, हिरा के.सी. रहेका छन् ।
टिमबाट बाहिरिने ७ खेलाडीहरुमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुवँर मगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल रहेका छन् । नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्षक सलिना श्रेष्ठ, सहायक प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव र सहायक प्रशिक्षक उमादेवी गुरुङ्गले प्रशिक्षण प्रदान गर्दै आईरहेको संघका सदस्य टेककुमार राजभण्डारीले जानकारी गराएका छन् ।