काठमाडौं, भाद्र ९ । रोल्पा मार्शल आर्टस् हाप्किडो संघले सहिद स्मृति प्रथम मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ । संघले आज लिबाङमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता संघको सयोगार्थमा आगामी कात्तिक १ र २ गते आयोजना हुने जानकारी गराएको हो ।
कार्यक्रम संयोजक यमुना घर्तीमगरका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित परिवर्तन गाउँपालिका केन्द्र पुत्लाचौरमा उक्त प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा सात ओटै प्रदेश र आयोजकबाट १६/१६ जना खेलाडी छनौट गरिने जनाइएको छ । सात प्रदेशबाट छनौट भएका एक सय १२ जना प्रतिस्पर्धी खेलाडी, आयोजक १६, निर्णायक (राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका) ३०, संघ प्रतिनिधि १५, स्वयंसेवक ३० जना गरी जम्मा दुई सय तीन जनाको सहभागिता रहने कार्यक्रम संयोजक घर्तीमगरले बताइन् । प्रतियोगतामा सहभागी बन्ने पुरुषतर्फको तौल समुह ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० निर्धारण गरिएको छ भने महिलातर्फको तौल समुह ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० निर्धारण गरिएको छ ।
त्यसैगरी, पदकहरुमा स्वर्ण पदक १६, रजत १६, कास्य ३२ गरी ६४ ओटा पदक रहेका छन् भने ट्रफि संख्या टिम प्रथम एक, टिम द्वितीय एक, टिम तृतीय एक, पुरुषतर्फ उत्कृष्ट खेलाडी एक, महिलातर्फको उत्कृष्ट खेलाडी एक, उदियमान खेलाडी एक, अनुशासित टिमतर्फ एक, जुरीतर्फ १०, रेफ्रितर्फ ३० र मायाको चिनो एक सय जनालाई दिइने व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, प्रशिक्षक र निर्णायक प्रत्येक व्यक्तिहरुलाई १० हजार र प्रतियोगितमा प्रथम, द्वितीय र तृतीयलाई आकर्षक ट्रफ्री, प्रमाणपत्र तथा नगद पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा २५ लाख ७० हजार सात सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सोही रकमको ५० प्रतिशत परिवर्तन गाउँपालिका कार्यालय रोल्पाले सहयोग गर्ने छ भने बाँकी रकम जिल्लाका अन्य गाउँपालिका र सहयोगी निकायहरुसँग समन्वय गरी संकलन गरिने संयोजक घर्तीमगरले बताइन् ।