काठमाडौं, भाद्र ८ । खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ईटहरीमा हुने भएको छ । सुरुमा राष्ट्रिय खेलाडीहरुको बरियता निर्धारण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता नवौं संस्करणसम्म आइपुगेको हो ।
आयोजकले जनाए अनुसार भाद्र २४ देखि २८ गतेसम्म ईटहरीस्थित रङ्गशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा पुरुष उच्च १६ बरियता तथा महिला उच्च १२ बरियताको एकल, उक्त बरियता बाहेककाको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल तथा ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगल गरी १० स्वर्ण पदकका लागि करिब एक सय ९० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ उच्च १६ बरियता तथा महिलातर्फ उच्च १२ बरियतामा रहेका खेलाडी बीच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । उनले उच्च बरियताका खेलाडीहरुले खुलामा प्रतिस्पर्धा गर्दा खेलको स्तरमा झनै कमि आउने भएकाले उच्च बरियताका बीच मात्र एकलमा प्रतिस्पर्धा गराईने बताए । उक्त बरिता बाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितालाई नेपालस्थित योनेक्सको आधिकारिक बिक्रेता योनेक्स सनराईजले विगत केहि संस्करणदेखि प्रायोजन गर्दै आईरको र यस पटक पनि प्रायोजन गर्ने भएको छ ।
कूल पाँच लाख ५८ हजारको लागत रहेको प्रतियोगितामा उच्च बरियताबीचको पुरुष तथा महिला एकलमा शिर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय प्राप्त गर्ने छन् । यस्तै, पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शीर्ष तीनले नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्ने छन् । छात्र तथा छात्रा एकलका विजयी शीर्ष तीनले नगद १० हजार, सात हजार र चार हजार प्राप्त गर्ने छन् ।
खेलाडीहरुको लागि खाना तथा बसोबासको ब्यवस्था सह–आयोजक सुनसरी ब्याडमिन्टन क्लबले गर्ने जनाइएको छ । नवौं संस्करणसम्म आईपुग्दा विभिन्न खेलाडीहरुले मोटरसाईकल प्राप्त गरिसकेका छन् । लगातार तीन पटक एकलमा उपाधी हात पार्ने खेलाडीहरुलाई संघले मोटरसाईकल प्रदान गर्ने परम्परा बसालेको थियो । यसले प्रतियोगिताको स्तरलाई उच्चस्तर प्रदान गर्नुका साथै खेलाडीहरुको मनोबल उच्च राख्न र खेलस्तरलाई बढाउन सफल भएको छ ।