काठमाडौं, साउन २४ । ब्रिटिष स्कुलकी साम्भवी पाल्लक काठमाण्डौ ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधी हात पार्न सफल भएकी छिन् । पाल्लकले छात्रा यु–१२ र यु–१४ दुबैतर्फ जित हात पार्दै दोहोरो उपाधी चुमेकी हुन् ।
पाल्लकले यु–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे.शेर्पालाई २१–२, २१–७ ले तथा यु–१४ मा ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१–१०, २१–४ ले पराजित गरेकी हुन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको छात्र यु–१२ मा भ्याली भ्यू स्कुलका सक्षम ढकालले बौद्ध इन्टरनेशनलका ककेश सत्याललाई २१–१३, २१–५ ले पन्छाउँदै उपाधीमा आफ्नो नाम लेखाए । यस्तै, छात्रकै यु–१४ मा क्यारिबियनका डेभिड थापा मगरले काठमाडौं मेरिडियनका अभियान कश्यपलाई २१–१३, २१–१० ले पाखा लगाउँदै उपाधी चुमे ।
सोही अवसरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक महेन्द्रलाल श्रेष्ठलाई कदरपत्र र नगद १० हजारबाट जिल्ला संघले सम्मान गरेको थियो । उनलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संघिय प्रतिनिधीसभाका माननिय साँसद जीवन राम श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए । विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै यु–१४ तर्फ पहिलो, दोश्रो र तेश्रोले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार तथा यु–१२ तर्फका खेलाडीले नगद २०, १५ र १० हजार प्राप्त गर्ने छन् ।
नगद पुरस्कार खेलाडीहरुलाई बिशेष कार्यक्रमको आयोजना गरि पछि प्रदान गरिने आयोजक संघका अध्यक्ष दीपक थापाले जानकारी गराए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष संजीव रेग्मी, ओलम्पियन दीपक बिष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।