काठमाडौं, साउन २२ । मुख्य प्रशिक्षक सुनील श्रेष्ठले यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका छन् । भारतको कल्यानी रंगशालामा यही २१ अगष्टबाट ३१ अगष्टसम्म सञ्चालन हुने प्रतियोगिताको लागि उक्त टिम घोषाण गरिएको हो ।
नेपाली टीममा गोलकिपर ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी रहेका छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा रहेका छन् । त्यस्तै, मिडफिल्डरमा जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई छन् भने फरवार्डमा क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा रहेका छन् ।
पाँच देशको सहभागिता रहने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ भने अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग र अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ ।
राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ । नेपालले त्यही अनुसारको तयारी थालेको छ । मुख्य प्रशिक्षक श्रेष्ठले नेपालको लक्ष्य उपाधि भएको बताएका छन् ।