काठमाडौं, साउन २१ । आगामी असोज १६ देखि ओमान क्रिकेटको आयोजनामा हुन लागेको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालसहित पाँच देशले खेल्ने भएका छन् । ओमान क्रिकेटका प्रमुख प्रशासकीय अधिकृत (सिएओ) एकबाल अरिवलाका अनुसार प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पाँच वटै टिमलाई प्रतियोगितामा भाग लिन एक महिनाअघि पत्र पठाएको बताउँदै एकबालले भने, ‘सबै टिमले खेल्ने पक्का भइसकेको छ ।’ नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी–२० प्रतियोगितामा सहभागी हुनका लागि इमेल आएको पुष्टि गरे । उनले नेपालको सहभागिताको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले निर्णय गर्ने बताए ।
२०७३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको आइसिसी नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ । प्रतियोगिता आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो । विश्व छनोटमा नेपाल छनोट हुन नसकेको अवस्थामा पनि आइसिसीले नेपालको सहभागिता पक्का गर्ने विश्वास गरिएको छ । विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ । जहाँ स्टकल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, हङकङ, ओमान, आयरल्यान्ड, युएई, पपुवा न्युगिनी, केन्या, नामिबिया, जर्सी र सिंगापुर छनोट भइसकेका छन् । १४ देशको सहभागिता हुने विश्व प्रतियोगिताका लागि अमेरिका क्षेत्रबाट दुई टिम छनोट हुन बाँकी छ । नेपाल भने दुई साताअघि सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो ।
विश्व वरीयताको ११औँ स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो । ओमानमा आयोजना हुने प्रतियोगिताका लागि नेपालको तयारीका विषयमा पनि आइसिसीले नै निर्णय दिनु पर्नेछ । नेपाल टिमका प्रशिक्षक उमेश पटवाल नेपाल आएपछि प्रशिक्षणको विषयमा निर्णय हुन सक्छ । सिंगापुरमा भएको एसिया छनोटपछि पटवाल उतैबाटै भारत गएका थिए । गत संस्करणको टी–२० विश्वकप खेलेको ओमान पछिल्लो समय बलियो एसोसिएट देशमा पर्छ । ओमानले यसै वर्ष एकदिवसीय टिमको मान्यता पाएको थियो । श्रीलंकाका पूर्वक्रिmकेटर दुलिप मेन्डिस ओमान क्रिकेटको प्रशिक्षकमा आएपछि ओमान क्रिकेटले फड्को मारिरहेको छ । मेन्डिस नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक रोए डायसको समकालीन हुन् । श्रीलंकाले टेस्ट मान्यता पाउँदा मेन्डिस र डायस श्रीलंकाका मुख्य ब्याट्सम्यान थिए ।