प्युठान, साउन ७ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्युठान जिल्ला कमिटीको आयोजनामा वीरबहादुर सिंह स्मृति प्रदेश ५ स्तरीय बुद्धिचाल प्रतियोगिता आजदेखि प्युठानमा सुरु भएको छ । उक्त प्रतियोगिताको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय संस्थापक अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
आयोजकका अनुसार प्रतियोगितामा १८ खेलाडीको सहभागिता रहेको छ । सो अवसरमा सदस्य–सचिव सिलवालले हिमाल आरोही स्व.सञ्जय पण्डितको स्मरण गर्दै प्युठानलाई चिनाउन सञ्जयको ठूलो योगदान रहेको बताए । प्युठानका स्व.सञ्जयको केहि वर्षअघि अमेरिकाको माउन्ट डेनाली हिमाल आरोहणका क्रममा निधन भएको थियो ।
गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण
प्रतियोगिताको उद्घाटनपछि सदस्य–सचिव सिलवालले प्यूठान नगरपालिकामा रहेको गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण गरेका थिए । त्यस अवसरमा सदस्य–सचिव सिलवालले नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई मैदानमा खेलकुदका पूर्वाधार बनाउन परिषद् नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउदै त्यसका लागि ठोस् प्रस्ताव पेश गर्न आग्रह गरे ।
बधाइ तथा शुभकामना
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देशी जिल्ला कमिटी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तिलोत्तमा नगर कमिटी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी सैनामैना नगर कमिटी, मदन भण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश कमिटी प्रदेश ५, मदन भण्डारी फाउन्डेसन बुटबल उपमहानगरपालिका कमिटी र मणि मुकुन्द भलिबल क्लब, रुपेन्देहीले राखेपको सदस्य–सचिवमा नियुक्त भएकोमा सदस्य–सचिव सिलवाललाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका छन् । खेलकुदलाई नजिकबाट बुझेको र खेलकुदलाई माया गर्ने व्यक्ति सदस्य–सचिवमा नियुक्त हुनु खेलकुदसंग सम्बन्धित सबैका लागि खुशी र गर्वको विषय भएको आयोजकको भनाइ थियो ।
मुख्यमन्त्री र सिलवालबीच भेट
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सदस्य–सचिव सिलवालबीच भेट भएको छ । भेटका अवसरमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद, नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग), नवौं राष्ट्रिय खेलकुद, प्रदेश रंगशालाका विषयमा दुई पक्षबीच छलफल भएको थियो ।
मुख्यमन्त्री पोखरेलले संघीयतामा खेलकुदलाई कसरी लाने लगायतका विषयमा कुरा गर्न आवश्यक रहेको बताए । सदस्य–सचिव सिलवालले संरक्षण र सुरक्षाको दृष्टिकोणले आठौं राष्ट्रिय खेलकुदका लागि बनेका पूर्वाधार प्रतियोगिता सम्पन्न भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्न जोड दिएका थिए ।