लन्डन, २४ भदाै - रुस विश्वकपपछि खेलिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिनाले जित हात पारेका छन् । ब्राजिलले अमेरिकालाई २–० गोलले पराजित गर्दा लियोनल मेसी बिनाको अर्जेन्टिनाले ग्वाटेमालालाई ३–० गोलले पराजित गर्यो । न्यु जर्सीमा भएको खेलमा नेमार र रोबर्टाे फिर्मिनोले एक÷एक गोल गर्दा ब्राजिलले घरेलु टोलीविरुद्ध जित हात पारेको हो ।
ब्राजिललाई खेलको ११औं मिनेटमै डगलास कोस्टाको क्रस सदुपयोग गर्दै फिर्मिनोले १–० ले अघि बढाएका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा नेमारले पेनाल्टी अवसर सदुपयोग गर्दै गोल गर्दा ब्राजिलको जित २–० ले पक्का बनेको थियो । ब्राजिलविरुद्धको खेलमा अमेरिका केही कमजोर देखिएको थियो ।
खेलपछि अमेरिकी टोलीका अन्तरिम प्रशिक्षक डेभ साराचनले आफ्ना खेलाडी बलियो ब्राजिलविरुद्ध केही हतास देखिएको प्रतिक्रिया दिए । ‘खेलाडीहरू डराएका थिएनन् तर केही हतास भने देखिएका थिए’, प्रशिक्षक साराचनले भने, ‘सायद खेलाडीहरू आत्मविश्वासी देखिएको भए नतिजा अर्कै हुन सक्थ्यो ।’
अन्तरिम प्रशिक्षक साराचनको नेतृत्वमा अमेरिकाले बेहोरेको यो मात्र दोस्रो पराजय हो । अमेरिका रुस विश्वकपका लागि छनोट हुन असफल भएपछि गत अक्टोबरमा साराचनले टोलीको जिम्मेवारी सम्हालेका हुन् । उनको नेतृत्वमा अमेरिकाले दुई जित, दुई हार र तीन बराबरीको नतिजा ल्याएको छ ।
त्यसपछि भएको अर्काे खेलमा अर्जेन्टिनाले पनि जित हात पारेको छ । अर्जेन्टिना ग्वाटेमालाविरुद्धको खेलमा आफ्ना महत्वपूर्ण खेलाडी लियोनल मेसीबिना नै मैदानमा उत्रिएको थियो । लस एन्जलसमा भएको खेलको पहिलो हाफमै तीन गोल गर्दै अर्जेन्टिनाले जित निश्चित गरेको थियो । अर्जेन्टिनाले खेलको २७औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो ।
गोन्जालो मार्टिनेजले टोलीका लागि पेनाल्टी अवसर सदुपयोग गरेका थिए । त्यसपछि खेलको ३५औं मिनेटमा जियोभानी सेल्सो र ४४औं मिनेटमा जियोभानी सिमियोनले एक÷एक गोल गर्दा अर्जेन्टिनाले खेलको पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफको खेलमा भने दुवै टोलीबाट थप गोल नहुँदा अर्जेन्टिनाले ३–० गोलको जित निश्चित गरेको हो ।