एजेन्सी, १० असार – विश्व फुटबल जगतमा कलिलो उमेरमै चर्चा कमाउने खेलाडीको रुपमा परिचित छन्, कलियान एम्बाप्पे।
१६ वर्षको उमेरमै फ्रेन्च क्लब मोनाकोबाट सिनियर करियरमा डेब्यु गरेका एम्बाप्पे अहिले फ्रेन्च ह्याभिवेट पिएसजीमा अाबद्ध छन्।
मोनाकोले सन् २००० पछि २०१६/१७ मा पहिलो पटक फ्रेन्च लिग जित्दा एम्बाप्पे महत्वपूर्ण हिस्सा थिए भने, सोही वर्ष उनले फ्रृन्च युथ प्लेयर अफ द इयर अवार्ड पनि जितेका थिए।
२०१७ मा पिएसजीमा भित्रिएका एम्बाप्पेको पछि अहिले विश्व फुटबलमा नामी क्लबहरु लागि रहेका छन्। जारी विश्वकप अन्तर्गत बिहीबार सम्पन्न पेरूविरुद्ध १ मात्र विजयी गोल गरेका एम्बाप्पेको पछि रियल म्याड्रिड पहिल्यै देखि रहेको छ।
तर, उनको वर्तमान लयबाट इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी पनि अाकर्षित भएको छ। मोनाकोबाट पिएसजीमा लोनमा रहेका एम्बाप्पेलार्इ पिएसजीले स्थार्इ रुपमा अनुबन्ध गर्नु भन्दा अगाडी नै १६६ मिलियन पाउण्डमा भित्र्याउन चाहेको सिटीको व्यवस्थापन टोलीले जानकारी दिएको छ।
म्यानचेस्टर सिटीसँगै म्यानचेस्टर युनाइटेडले पनि उनको अवलोकन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। एम्बाप्पेका लागि १६६ तिर्न सिटी तयार भएको छ। त्यस्तै, युनाइटेडले लगभग ८० मिलियन पाउण्ड मार्केटमा भ्यालु भएका एन्टोनी मार्सियलसहित ८६ मिलियन दिने बताइरहेको छ।