एजेन्सी, ५ भदाै – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७/१८ को सिजनको उत्कृष्ट खेलाडीको मनोनयनमा बार्सिलोनाका कप्तान लिओनेल मेसी पाँचौ स्थानमा परेका छन् ।
रुसमा पछिल्लो महिना सम्पन्न विश्वकपमा अर्जेन्टिनाको कप्तानी सम्हाल्दै राउण्ड अफ १६ बाट बाहिरिएका मेसीले बार्सिलोनाबाट पनि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । विगत केहि सिजनयता प्रदर्शन खस्केपनि मेसी उत्कृष्ट खेलाडीको शीर्ष ३ सुचिमा भने पर्दै आएका थिए । यसपटक भने उनलाई चार खेलाडीले उछिन्दै शीर्ष ३ बाट बाहिर धकेलेका छन् ।
उनलाई चिर परिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँगै रियल म्याड्रिडकै लुका मोड्रीच र मोहमद सलाहले पछि पारे । यसैगरी चौथो स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनले उनलाई फराकिलो अंकको दुरीले पछाडी पारेका छन् । मेसीले ५५ अंक प्राप्त गर्दा ग्रिज्मनले ७२ अंक प्राप्त गरेका छन् । यो दुरी मेसीलाई पछ्याईरहेका पीएसजीका किलियन एमबाप्पे भन्दा बढी हो । एमबाप्पेको ४३ अंक रहेको छ ।
खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् । जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।
शीर्ष १० खेलाडी:
शीर्ष ३ : क्रिस्टियानो रोनाल्डो / लुका मोड्रीच / मोहमद सलाह
४. एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स) – ७२ अंक
५. लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना) –५५ अंक
६. केलियन एमबाप्पे (पिएसजी/फ्रान्स) –४३ अंक
७. केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम) – २८ अंक
८. राफइल भरान (रियल मड्रिड/फ्रान्स) –२३ अंक
९. इडेन हजार्ड (चेल्सी/बेल्जियम) – १५ अंक
१०. सर्जियो रामोस (रियल मड्रिड/स्पेन) –१२